"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी"

Tuesday, October 28, 2008

रोशन दाइको भैलो-औसील्यान्डबाट

-रोशन खनाल (मेलवर्न, अष्ट्रेलिया)

घुमी धेरैतिर अष्ट्रेलिया आइयो
नौलो मान्छे, नौलो ठाउँको चाल पाइयो
यसो हेर्दा, फरक चलन फरक व्यवस्था
बुझी ल्याउँदा सबै उस्तै, त्यस्तै कथा

हे औशी बारो, बाँच्न भयो गाह्रो, गाई तिहारो भैलो...

मनमा पिर तर खिस्स हाँस्नै पर्ने
"गुड-डे मेट", "हाऊ इज गोईङ्ग" भन्नै पर्ने
घरधन्दा, अफिसफन्दा फुर्सद छैन
सधैँ दौडा-दौड कहिल्यै छैन चैन

हे औशी बारो, बाँच्न भयो गाह्रो, गाई तिहारो भैलो...

तलब दिन चुइँया यी "औसी" भाइ
दिएको आधा फिर्ता लिन्छन्, "ट्याक्स" भनेर
बाकीँ जान्छ "ईन्सुरेन्स" र "मोर्टगेज" मा
लाईफ सधैँ रहर र "सर्टेज" मा

हे औशी बारो, बाँच्न भयो गाह्रो, गाई तिहारो भैलो...

आउने होइन आरामैको चिठीपत्र
"मेलबक्स" मा जहिले हेर्‍यो "बिल" मात्र
अवसरहरुको ढोका खुल्छ भन्ने सुनेको
शंकै लाग्छ, सबै ऋणमा ढुबेको

हे औशी बारो, बाँच्न भयो गाह्रो, गाई तिहारो भैलो...

जे भए'नि घर सबको झिलीमिली होस्
लक्ष्मी आउन्, तिहार सबको रमाईलो होस्
संस्कृति र परम्परा सधैँ साँचून्
मंगलमय शुभकामना सधैँ बाँचून ।

हे औशी बारो, बाँच्न भयो गाह्रो, गाई तिहारो भैलो...

No comments: