"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी"

Wednesday, January 14, 2009

२०६६ साल ११ महिनाको मात्र

यो चैतमा तपाईंको जन्म दिन छ भने धुमधामसँग मनाउने तयारी गर्नुस् । अर्को वर्ष तपाईँले यो अवसर पाउनु हुने छैन । किनभने आउँदो वर्षको क्यालेन्डरमा चैत महिना हुने छैन । अर्थात् २०६६ सालमा ११ महिना मात्रै हुनेछ ।

हामीले मनाउने चाडपर्व र अन्य सांस्कृतिक गतिविधि पनि एक महिनाअघि सर्नेछन् । यसैलाई ऋतुसँग तालमेल मिलाउन मन्त्रिपरिषद्ले क्यालेन्डर परिवर्तन गर्न स्वीकृति दिएको छ ।

पर्व सुधार राष्ट्रिय कार्यदलले गत वर्ष बुझाएको प्रतिवेदन अनुसार २०६६ साल ११ महिनाको मात्र हुनेछ र फागुनपछि वैशाख सुरु हुनेछ । 'सुरुको एक वर्ष परिवर्तन गरेपछि अरू वर्ष स्वतः मिल्ने भएकाले परिवर्तन गरिराख्न पर्दैन,' प्रतिवेदन कार्यान्वयन समितिका सदस्यसचिव हरिनारायण मल्लले भने । मितिका हिसाबले चैत नभए पनि तिथिको आधारमा जन्म दिन निश्चित गर्न सकिने मल्लको सल्लाह छ ।

गत वर्ष कार्यदलले प्रतिवेदन तत्कालीन संस्कृति तथा पर्यटनमन्त्रीलाई बुझाएको थियो । कार्यदललाई कार्यान्वयनको जिम्मा पनि मन्त्रीले दिएका थिए । कार्यान्वयन समितिअन्तर्गत ज्योतिष, धार्मिक, वैदेशिक समन्वय र वैज्ञानिक उपसमिति गठन भएको उनले बताए ।

संस्कृति तथा पुनर्संरचना मन्त्रालयका प्रवक्ता जलकृष्ण श्रेष्ठले मन्त्रिपरिषद्ले यसको कार्यान्वयन गर्न बुधबार सैद्धान्तिक स्वीकृति दिएको जानकारी दिए । उनका अनुसार पञ्चाङ्ग निर्णायक समिति र सरोकारवालासँग परामर्शपछि मन्त्रालयले यसलाई कार्यान्वयनमा ल्याउनेछ ।

जनचेतनामूलक कार्यक्रमका लागि मन्त्रालयले चालू वर्ष ५ लाख रुपैयाँ बजेट छुट्टयाएको छ । यसबारे भारतलाई समेत खबर गरिने उनले जनाए । आवश्यक तयारीका लागि गृह मन्त्रालयलाई पनि पत्राचार गर्ने उनले जानकारी दिए ।

'निर्धारित समयभन्दा हामी एक महिना पछि परिसकेका छौं,' मल्लले भने, 'समयअनुसार काम गर्न नसकेकाले राजनीतिक, आर्थिक लगायत सबै क्षेत्रमा सफलता पाउन सकेका छैनौं ।'

कार्यदलका अनुसार १ हजार ६ सय ५६ वर्षयता क्यालेन्डरमा परिवर्तन नभएकाले समायोजन गर्न एकैचोटि एक महिना सार्नुपरेको हो । मल्लका अनुसार २ हजार १ सय ५० वर्षमा ऋतु एक महिना वर सर्छ । तर हामीले पुरानै मितिअनुसार पर्व मनाइरहेका छौं । हाम्रा पर्व ऋतुमा आधारित छन् ।

नेवार समुदायले मनाउने योमरी पूणिर्मा र राईहरूको उधौली पूणिर्मा भने ठीक समयमा मनाउने गरिएको उनको भनाइ छ । 'तीन-चार सय वर्षअघिदेखि उपत्यकामा योमरी पूणिर्मा एक महिनाअघि सारेर मनाउन थालिएको हो,' उनले भने । पञ्चाङ्ग सुधारको निर्णय धार्मिक आधारमा मात्र नभई वैज्ञानिक रूपमा पनि उचित रहेको कार्यदलको दाबी छ ।

साभार: ई-कान्तिपुर डट कम